पूर्व विश्वविजेता जर्मनीले खराब नतिजाको सिलसिलालाई तोड्दै अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा रसियालाई पराजित गरेको छ । विश्वकप टोलीमा स्थान बनाउन नसकेका युवा विंगर लेरोय सानेले जर्मनीलाई आठौं मिनेटमा अग्रता दिलाएका थिए । उनले सर्ज ग्नाब्रीको पासलाई गोलमा परिणत गरेका थिए ।

Image :- Soccer Laduma

खेलको २५ औं मिनेटमा जर्मनीले अग्रता दोब्बर पार्यो । रुसले बनाएको अफसाइड ट्रयापलाई जर्मनीले तोड्दा डिफेन्डर निक्लास सुलले गोल गरे । उनले जोसुआ किमिचको कर्नरमा आएको बललाई एन्टोनियो रुडीगरले फ्लिक गरेपछि सहजै गोल गरेका थिए । ४० औं मिनेटमा ग्नाब्रीले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए ।

यस नतिजासँगै सन् २०१८ मा जर्मनीले खेलेका १२ खेलमा यो चौथो जित हो । विश्वकपमा खराब प्रदर्शन गर्दै समूह चरणबाट नै बाहिरिएको जर्मनीलाई यस जितले केहि राहत पुगेको छ । जर्मनीले अब यूईएफए नेसन्स लिगअन्तर्गत खेलमा सोमबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।