बार्सिलोना मिडफिल्डर फिलिपे कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको छ । पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाईमा पर्न संघर्षरत रहेपछि मिडफिल्डरले क्लब छाड्ने हल्ला चलेको हो । कोउटिन्होले यस सिजन जम्मा ९ खेल सुरुवात गर्दै ४ गोल गरेका छन् । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कोउटिन्होलाई पहिलो रोजाईमा राख्न छाडेसँगै उनी क्लब छाड्ने सम्भावना बढेको हो । मोटो रकममा क्याटलान क्लब आएका कोउटिन्होको यस अवस्थालाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नजीकबाट नियालेको बुझिएको छ ।

Image Source - Google

उनलाई बार्सिलोनाले सन् २०१८ जनवरीमा १ सय ४३ मिलियन पाउण्डमा खरिद गरेको थियो । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस बार्सिलोनाका खेलाडी फिलिपे कोउटिन्हो भित्र्याउन कसरत थालेको छ । ‘द मिरर’ का अनुसार युनाइटेडले कोउटिन्होका एजेन्टसँग सम्भावित सरुवाबारे छलफल अघि बढाएको हो ।

पछिल्लो समय लयमा नरहेका तथा सुरुआती टोलीमा स्थान बनाउन नसकिरहेका कोउटिन्होलाई बेचेर बार्सिलोनाले सो रकमबाट नेइमारलाई फर्काउने चर्चा छ । अहिले बार्सिलोनाका अधिकारी र नेइमारका प्रतिनिधिबीच सम्भावित सरुवाबारे कुराकानी चलिरहेको दाबी गरिएको छ ।

यसैकारण पनि बार्सिलोनाले नेइमारको विकल्प खुला गरेको हो । त्यसका लागि उसले महँगा खेलाडी कोउटिन्होलाई बेचेर सो रकमबाट नेइमार अनुबन्ध गर्ने योजना बनाएको बताइन्छ ।

यता, बार्सिलोनामा कोउटिन्होको अवस्था राम्रो नभएपछि युनाइटेडले उनलाई भित्र्याउन चासो देखाएको हो । युनाइटेडले हाल टोलीमा रहेका फ्रेन्च खेलाडी पाउल पोग्बालाई उनको पूर्वक्लब युभेन्टस पठाउने चर्चा छ ।