अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा पहिलो पटक मैदानमा ओर्लिएको रियल म्याड्रिडले कोपा डेल रे फुटबल प्रतियोगितामा फराकिलो अन्तरको जित हात पारेको छ । अन्तिम ३२ टोलीबीचको भिडन्तको बिहीबार बिहान खेलिएको पहिलो लेग खेलमा रियलले तेस्रो युडी मेलिल्लालाई उसैको मैदानमा ४—० गोलले हरायो । जितसँगै रियलले अघिल्लो चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

Photo source :- google

गत सोमबार रियलले प्रशिक्षक युलेन लोपेटेग्वीलाई पदबाट बर्खास्त गरेपछि पूर्वखेलाडी सोलारी अन्तरिम प्रशिक्षकमा नियुक्त भएका हुन् । ‘एल क्लासिको’ भिडन्तमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग लज्जाजनक पराजय भोगेको एक दिनपछि नै रियलले प्रशिक्षक लोपेटेग्वीलाई पदबाट बर्खास्त गरेको थियो । उनले १४ खेलमा मात्र रियलका लागि प्रशिक्षकको भूमिका निर्वाह गरे।

खेलको २८औं मिनेटमा करिम बेन्जेमाले रियलका लागि पहिलो गोल गरे । पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि मार्को एसेन्सियोले टोलीको अग्रता दोब्बर बनाएका थिए । ७९औं मिनेटमा अल्भारो ओड्रिजोलाले रियलका लागि तेस्रो गोल थपे भने खेलको अन्तिम समयमा क्रिस्टो गोन्जालेजले चौथो गोल गरेका थिए ।

जारी सिजनमा लोपेटेग्वीको प्रशिक्षकत्वमा निराशाजनक प्रदर्शन गर्दै आएको रियल स्पेनिस ला लिगा तालिकाको नवौं स्थानमा छ । घरेलु लिगमा १० खेल खेलिसकेको रियलले १४ अंकमात्र बटुल्न सकेको छ I