स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । कोपा डेल रे अन्तगत भएको खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई २–१ ले स्तब्ध बनाएको हो । लेभान्टेको जितमा इरिक कावाको र बोर्जा मायोरलले गोल गरे । बार्सिलोनाका लागि फिलिपे कौटिन्होले एक गोल फर्काए ।

बार्सिलोना सम्हालिन नपाउदै घरेलु टोलीले खेलको चौथो मिनेटमा नै इरिक कावाकोको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले रुवेन रोचिनाको पासमा गोल गरेका थिए । खेलको १८ औं मिनेटमा रियल मड्रिडबाट लोनमा लेभान्टे पुगेका बोर्जा मायोरलले गोल गरेपछि घरेलु टोलीले बार्सिलोनाविरुद्ध २–० को अग्रता बनायो । त्यसपछि खेलको ८५ औं मिनेटमा कौटिन्होले पेनाल्टीमा एक गोल फर्काएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो ।